चितवनः अत्याधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्य बृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । उहाँका अनुसार २५ प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोगहरू देखिने गर्दछ । उहाँले भन्नुभयो “पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।”
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले आजबाट लागू हुने गरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्य अनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु.४८० र मझौला रु.४५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु.३० बृद्धि भएको हो ।
व्यवसायीहरुले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु.३ हजार ५४० र मझौला ३ हजार ३३० मा बिक्री गर्ने पोखरेलले बताउनुभयो । चार महिना अघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताउनुभयो । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् । विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।
धेरै किसान विस्थापित समेत भएको उहाँ बताउनुहुन्छ । गत वर्ष प्रतिक्रेट रु. ५२५सम्म पुगेको अण्डाको मूल्य घटेर रु. ३५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु. १६.५६ छ ।
राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाहरुबाट यहाँ ल्याईएका नमूना हेर्दा ५० फार्ममा एच ९ (एचनाईन) रोगको संक्रमण देखिएको छ । यससँगै गम्बारो, साल्मोनेला जस्ता समस्या छन् । जसले गर्दा अण्डाको उत्पादन घटेको उहाँ बताउनुहुन्छ । वर्षातको समयमा चर्काे गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने उहाँ बताउनुहुन्छ ।






