
चितवनः भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक बिभागले बर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो ।
नेपाल विद्युत प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उहाँले भन्नुभयो “अहिले मुख्य कामहरु पाईप गाड्ने, पाईप हाल्ने, खाल्डा खन्ने लगायतका रोकिएको छ ।” अहिले पाईप गाडिसकिएका ठाउँहरुमा केवल जोड्ने, पोलहरु गाड्ने लगायतका कामहरु भईरहेको उहाँले बताउनुभयो । सडक विभागले बर्षातमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उहाँका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासीने जस्ता समस्या हुने भएकाले काम रोकिएको हो ।
आयोजनाले हालसम्म भरतपुर महानगरपालिकामा विद्युत भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको सुबेदीले बताउनुभयो । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पुलचोकदेखि केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीदेखि केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्काेतर्फ भूमिगत गर्ने काम बाँकी रहेको छ । उहाँले भन्नुभयो “फाउण्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाईन जडान बाँकी रहेको छ ।” ३३ केभि जडानको काम सकिएको छ भने ११ केभि र ४०० भोल्टको केवल राख्ने काम जारी रहेको छ ।
खाल्डा खन्ने क्रममा पानी आउने भएकाले बर्षातपछि कामलाई तिब्र वनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताउनुभयो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि वढाईएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिदैं लगिएको उहाँले बताउनुभयो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।