
भरतपुर, ९ असार — भरतपुर–११ मा रहेको लोटस एकेडेमी, भरतपुरमा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धी प्रस्तुति तथा प्रदर्शनी सम्पन्न भएको छ । भरतपुरकै श्री कलेज अफ टेक्नोलोजीमा बीएससी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेको प्रस्तुति तथा प्रदर्शनी आज सम्पन्न भएको हो ।
एक साता लामो अध्ययन, अभ्यास तथा जनचेतनामूलक तयारीपछि सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य सम्बन्धी नाटक, गीत तथा पोस्टर प्रदर्शनी प्रस्तुत गरेका लोटस एकेडेमीका प्राचार्य गोपिलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा लोटस एकेडेमीका अध्यक्ष प्रकाश अधिकारीले सामाजिक उत्तरदायित्वको बोध गराउने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई समुदायप्रति जिम्मेवारी महसुस गराउँदै सकारात्मक योगदान दिन प्रेरित गर्ने धारणा राख्नुभयो ।
प्राचार्य श्रेष्ठले सामूहिक सहभागिता र प्रस्तुतीकरणले समूहमा काम गर्ने, प्रस्तुति दिने, संवाद गर्ने जस्ता सीपहरूको विकास हुने बताउनुभयो। उहाँले रोगको पूर्वसावधानी र रोकथामका उपाय सिकाउने—सरुवा रोग, बाल स्वास्थ्य, किशोर अवस्था, लैङ्गिक स्वास्थ्य लगायतका क्षेत्रमा सजगता बढाउन यस्ता प्रस्तुती र प्रदर्शनीले भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा श्री कलेज अफ टेक्नोलोजीका प्रिन्सिपल नन्द किशोर भट्ट, भाइस प्रिन्सिपल बबिता घिमिरे, वीपीएच कोर्डिनेटर जीवनकुमार पौडेल, अनिता घिमिरे, शिशा राई, शर्मिला रेग्मी, सुभेक्षा शर्मा लगायतको सहभागिता रहेको थियो । उहाँहरूले विद्यार्थी तथा समुदायमा स्वच्छता, पोषण, रोग निवारण, मानसिक स्वास्थ्यजस्ता विषयमा जानकारी दिनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
बीएससी नर्सिङ विद्यार्थी एन्जिला महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लोटस एकेडेमीका तर्फबाट सहायक प्राचार्य दीपक गुरुङ, मावि तह प्रमुख शारदा खतिवडा, शिक्षक मुकुन्द घिमिरे लगायतको सहभागिता रहेको थियो । सो अवसरमा विद्यार्थीहरूले तयार पारेका स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सामग्रीहरू पनि प्रस्तुत गरिएको थियो ।