चितवनः चितवन राष्ट्रिय निकुञ्जले झाडी बढे संगै हुन सक्ने चोरीशिकारी नियन्त्रणका लागि स्पाई (जासुसी)क्यामेरा जडान गरेको छ । निकुञ्जको सम्बेदनशिल क्षेत्रहरुमा यो क्यामेरा जडान गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार मनसुन सुरु भए संगै निकुञ्जका हरेक क्षेत्रमा मानबिय रुपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । उहाँले भन्नुभयो “झाडी बढे संगै हुन सक्ने घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्धारा पट्रोलिङ् वढाईएको छ ।” निकुञ्ज क्षेत्रको सम्बेदनशिल स्थानमा ३० वटा स्पाई क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । यी क्यामेरा गोप्यरुपमा राखिएको छ । यसले निकुञ्ज भित्र हुने चोरीशिकारी नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यस क्यामेराले मानिसको आबतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ । यसलाई जासुस क्यामेरा पनि भन्ने गरिन्छ ।

सम्बेधनशिल क्षेत्रमा नेपाली सेनाको गस्ति बढाईएको छ । निकुञ्जमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली बाहेक बिभिन्न गणका ९० जना सेनाको टोली यहाँआएर सुरक्षामा खटिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उहाँले बताउनुभयो । टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उहाँको भनाई छ । यो टोली तीन महिना बस्ने छ ।

मनसुन सक्रिय भए संगै निकुञ्ज क्षेत्र आसपास वसोवास गर्ने जनता खेतिपातीमा लाग्ने भएकाले यो समयमा चोरि शिकारी वढ्न सक्ने खतरा बढी हुन्छ । निकुञ्जको सुरक्षालाई थप बलियो वनाउन लागिएको मगरले बताउनुभयो । चोरीशिकार नियन्त्रण अभियानहरु पनि यो समयमा निस्क्रिय हुने हुँदा वर्षातको समयमा संरक्षणमा चुनौती थपिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !