
चितवनः मुग्लिन–मलेखु सडक खण्डको चारवटा पुलमा आरसिसि बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यस संगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको छ । पृथ्वी राजमार्गकै नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएपछि त्यहाँ भने आज र भोली राति सडक वन्द हुने भएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसि बिम राख्नेकाम सम्पन्न भएको छ । उहाँका अनुसार ती मध्ये दुईवटा पुलको ढलान असार मसान्त भित्रमा सक्ने गरी काम अघि वढाईएको छ । भारतबाट ठूलो क्रेन झिकाएर बाहीर वनाईएको बिम पुलमा राख्नु पर्ने भएकाले जेठ ३० गतेबाट असार ७ गते सम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको हो ।
क्रेनले यो खण्डका चार पुलमा बिम राखे संगै आज र भोली सोही आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधिन गलौदी खोला पुलमा बिम राख्नलागिएको छ । आयोजनाले एक सूचना जारी गरी राती १०ः३० वजेबाट बिहान ३ वजे सम्म दुई दीन सवारी रोकेर बिमराख्न लागिएको जनाएको छ ।
मुग्लिन–मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चितवन तर्फ लेवाटार, कुलिनटार, चुम्लिङ्टार र फिस्लिङ् वजार क्षेत्रमा कालोपत्रे गरिएको छ । धादिङ तर्फ मझिमटार, चरौदी र बिशाल टारमा चार लेन सडक कालोपत्रे गरिएको हो । १४ मिटर फराकीलो कालोपत्रे गरिएको छ । धादिङ्को मझिमटार र बिशालटारमा झण्डै २ किलोमिटर क्षेत्र कालोपत्रेको तयारी गरिएको छ ।
नेपालले भन्नुभयो “करिब ८ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ । मौषमले साथ दियोभने थप दुई किलोमिटर कालोपत्रे गदैंछौ ।” आयोजनाका इन्जिनियर बिजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भई रहेको छ । धादिङ् तर्फका चरौदि र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ ।
यो खण्डमा २.२ किलो मिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुने छ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा हुने छ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने छ ।
बि. सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाईएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आव्हान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलब ८६ किलोमिटर पर्दछ ।
शर्मा–जेडआईसीजीले रु ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको बिभिन्न क्षेत्रहरुमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगाएतका काम भईरहेको छ । यो सडक बिश्व बैंकको सहयोगमा बनाईएको हो ।