चितवनः भरतपुर महानगरपालिकाले बरपिपल रोप्ने अभियान सुरु गर्ने भएको छ । महानगरको १७ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले हरियाली प्रबर्धन संगै बरपिपल रोप्ने अभियानलाई प्राथमिकतामा राखिने बताउनुभएको हो ।

समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । वर, पिपल रोप्ने अभियान सञ्चालन गरी टोल विकास संस्थामार्फत संरक्षण कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका विरुवाहरु रोपिनुका साथै विक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । “भरतपुर महानगरः हरियाली तथा स्वच्छ सहर” अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाई वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्धनका कार्यक्रमलाई टोल विकास संस्थाहरु समेतलाई परिचालन गरी सरसफाई र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका विरुवा निःशुल्क वितरण गरिने जनाइएको छ ।

“एक घर, दुई रुखको नीति” लाई घर निर्माण सम्पन्न प्रकृयामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई मागको आधारमा निःशुल्क विरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।

संघीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं. २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आ.व. ०८२÷०८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

“उज्यालो भरतपुर” अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारहरुलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर प्रमुख दाहालले सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत, टेलिफोन, केबुल लाईन र ईन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

महानगरपालिकाभित्रका खोला तथा नाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रहरूको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरभित्रका नगर गौरवका आयोजनाहरूलाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरुप लायन्स चोकमा महानगरीय व्यवसायिक भवन यसै आर्थिक वर्षमा निर्माण सुरु गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साईट निर्माण कार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संघ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्करोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय स्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मी नारायण मन्दिर तथा पार्कलगायतका आयोजनाहरू संघीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आर्थिक वर्ष ०८२÷०८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।

भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको संग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राईनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानिपोखरी, जोरकुसुम पार्क, देविस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गरिने महानगर प्रमुख दाहालले बताउनुभयो । पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !