चितवन, असार ७ — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ स्थित खहरे पुल नजिक आज बिहान करिब १०:१५ बजे बस र विद्युतचालित सवारी (EV) ठक्कर खाँदा भीषण दुर्घटना भएको छ। दुर्घटनामा परी हालसम्म ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी सवारी एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्करपछि दुबै सवारीसाधन घटनास्थलमै अवरुद्ध हुँदा केही समयसम्म पूर्व–पश्चिम राजमार्गका दुबै लेनमा यातायात ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार, दुर्घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रमुख निरीक्षक रुपेश बिष्टको नेतृत्वमा, खैरहनीबाट प्रमुख निरीक्षक प्रदीपजंग महत तथा टाँडीबाट प्रहरी नायब उपरीक्षक रञ्जन अवाको कमाण्डमा गरी ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको थियो। दुर्घटना स्थल इप्रका भण्डाराबाट करिब १ किलोमिटर पश्चिममा पर्ने जनाइएको छ। क्रेनमार्फत दुबै सवारी हटाएपछि दिउँसो १२:०५ बजेबाट बाटो दुबैतर्फ सञ्चालनमा ल्याइएको हो।

मृतकको विवरण यसप्रकार छ:

भरतपुर अस्पतालमा मृत्यु हुनेहरू: १. सोमप्रसाद रुपाखेती (५५), हटिया–३, मकवानपुर
२. मैया कुमारी न्यौपाने पहाडी (५३), हेटौंडा–५, मकवानपुर
३. अन्दाजी १८/१९ वर्षकी अज्ञात महिला
४. अन्दाजी २४/२५ वर्षकी अज्ञात महिला
५. अन्दाजी २२/२३ वर्षका अज्ञात पुरुष

पुरानो मेडिकल कलेजमा मृत्यु हुने: १. अन्दाजी ३०/३५ वर्षकी गर्भवती महिला
२. अन्दाजी ३५/४० वर्षका अज्ञात पुरुष

घाइतेको अवस्था:

एलाईभ अस्पताल, भरतपुर:
– ४ जना मध्यम तथा गम्भीर घाइते

पुरानो मेडिकल कलेज, भरतपुर:
– ६ जना घाइते (२ मृतक सहित)

नयाँ मेडिकल कलेज, भरतपुर:
– १६ जना सामान्य घाइते, जसमा अर्जुन बहादुर राउत, जम बुढा, चन्द्रकुमारी थापा, टिका न्यौपाने, बलसिंह बुढा लगायतका रहेका छन्

हालसम्म कूल ३१ जना घाइते र ७ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। बाँकी घाइतेहरू भरतपुरका विभिन्न अस्पतालमा उपचाररत छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !