
चितवनः जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत व्यवसायीक प्याज प्रबद्र्धन कार्यक्रम अन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।
जिल्लाको तीन पालिकामा लगाईएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ का कृषक बाबुराम धमलाले १६ कठ्ठामा लगाउनुभएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य हुनुभएको छ । उहाँले भन्नुभयो “मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन ।” बजारमा मूल्य नपाएर बिगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।
अहिले व्यवसायीहरुले रु २५ भन्दा कममा प्रतिकिलो माग गर्ने गरेको भन्दै उहाँले यसले लागत मूल्यपनि नउठ्ने भएकाले मूल्य आएपछि बिक्री गर्ने योजनामा रहेको बताउनुभयो । बजारमा ठूलो र चम्किलो खालको प्याजमात्रै बिक्री हुने भन्दै उहाँले साना प्याजहरु बिक्री नहुने गरेको गुनासो गर्नुभयो ।
यस्तै भरतपुर महानगरपालिका वडा नं. २५ की गिता रानाभाट आफुले उत्पादन गरेको प्याजलाई रु २० देखि ३० को मूल्यमा बजारमा बेच्न बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “नेपालमा उत्पादित प्याजले बजार नपाउनु समस्याको रुपमा रहेको छ ।” भण्डारण गरेर राख्न समेत समस्या हुने गरेकाले सस्तोमा बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
जिल्लाका २२ वटा समूह, सहकारी र फर्म मार्फत कार्यक्रम कार्यान्वयनमा ल्याईएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिनभयो ।”
आयातित प्याज भन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उहाँको भनाई छ । नेपालमा हुने प्याज आयातलाई न्यूनिकरण गर्न कार्यक्रम गरिएको बताउँदै उहाँले यसलाई भण्डारण गर्न सके अन्य समयमा उचित मूल्य सहित वजार पाउन सक्ने बताउनुभयो । उहाँले थप्नुभयो “अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।” प्याज बिक्री नहुँदा कुहिने, उम्रने जस्तो समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।
अहिले देखिएको समस्या समाधानका लागि आगामी बर्षको कार्यक्रममा योजना वनाउने गरी काम गरिएको उहाँले बताउनुभयो । यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागु गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यवसायीक खेतीमा प्रयोग गरिएको उहाँले बताउनुभयो ।