नारायणगढः चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ९५ करोड ७ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौं नगरसभामा उपमेयर विमला तामाङले ७ करोड आन्तरिक आम्दानी र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आधार मानेर बजेट प्रस्तुति गर्नुभयो ।

प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । नगर प्रमुख बिनोद रेग्मीका अनुसार कृषि क्षेत्रको प्रोत्साहनका लागि कृषि व्यवसाय दर्ता तथा नवीकरण शुल्क घटाएर एक सय रुपैयाँ मात्र राखिएको छ, जुन यसअघि एक हजारदेखि पाँच हजार रुपैयाँसम्म तिर्नुपर्ने थियो ।

कालिकामा हाल मह, केरा, च्याउ, कोदो, फापर, अदुवा, हलेदो, पिँडालु लगायतका उत्पादन विस्तार हुँदै आएका छन् । नगरपालिकाले यिनै उत्पादनलाई व्यावसायिक स्तरमा प्रवद्र्धन गर्न सिँचाइ, यान्त्रिकीकरण तथा बजारीकरणमा लगानी बढाउने बताईएको छ । “रासायनिक विषादीको विकल्पमा प्रांगारिक मल र जैविक विषादी प्रयोगलाई प्राथमिकता दिएका छौं,” प्रमुख रेग्मीले भन्नुभयो, “व्यावसायिक उत्पादन बढाउन आवश्यक यन्त्र, उपकरण खरिदमा अनुदान दिने, प्राविधिक सहयोग, गुणस्तरीय बीउ तथा भण्डारणमा सहयोग गरिनेछ ।”

सामूहिक खेती, रोजगारी सिर्जना तथा अर्गानिक खेती प्रवद्र्धनका लागि प्रांगारिक मल, झोल मल र भर्मी कम्पोस्ट मल प्रयोग गर्ने किसानलाई विशेष अनुदान दिइने पनि उहाँले बताउनुभयो। कालिकाको वडा नं. १० र ११ मा रहेको चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ ।

उपप्रमुख बिमला तामाङका अनुसार आगामी वर्षमा पनि विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । चालु वर्षमा ९१० परिवारका ३,३८३ जनालाई बीमा गरिएको थियो, जसमा ३० लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो। कालिका नगर अस्पतालमा दन्त सेवा थप गर्ने र इन्डोर सेवा (बिरामी भर्ना गरेर उपचार गराउने) सुरु गर्ने तयारी पनि बजेटमा समावेश गरिएको छ ।

नगर प्रवक्ता लक्ष्मण पौडेलले ‘मेयर केयर’ र ‘उपमेयरसँग बालबालिका’ कार्यक्रममार्फत सबै बालबालिकालाई विद्यालय पठाउने वातावरण बनाइने जानकारी दिनुभयो । गत वर्ष चालू आर्थिक वर्षका लागि कालिका नगरपालिकाको बजेट ९२ करोड ९७ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यस वर्ष नगरपालिकाले आर्थिक पारदर्शिता बढाएर बेरुजु शून्यमा झार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस !