
चितवनः चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा राप्ती नदी किनारबाट संकलन गरी राखिएको गोहीका अण्डाबाट बच्चा कोरलिएको छ । निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार संकलन गरिएका २३२ अण्डा मध्ये २०२ वटा अण्डाबाट बच्चा कोरलिएको हो ।
संकलन गरिएका अण्डा मध्ये २० वटालाई प्रयोगशालामा राखिएको थियो । जस मध्येबाट १९ वटा अण्डाबाट गोहीको बच्चा निकालिएको छ । अन्यलाई केन्द्रको प्राकृतिक बातावरणमा छोडीएको थियो । वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट संकलन गरि ल्याईएको थियो । निकुञ्जले १८ वटा गँुड पहिचान गरि ती मध्ये सात वटा गुँडबाट अण्डा संकलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो । सातवटा गुँडमा रहेका २३२ वटा अण्डा संकलन गरी गोही प्रजनन् केन्द्रमा ल्याईएको थियो ।
संकलन गरेर ल्याईएका अण्डा मध्ये २१२ वटा अण्डालाई प्राकृतिक रुपमा प्रजनन्का लागि छोडीएको थियो । गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका २४७ वटा अण्डा निकालिएको थियो ।
प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडीदाँ सर्प, चराहरु र अन्य जनावारबाट हानी नोक्सानी समेत हुने भएकाले अण्डा संकलन गर्ने गर्ने गरिन्छ । निकुञ्जले गोही प्रजनन् केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्कीका गरिएको घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।