
चितवनः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य भान्सा (किचन) सामग्री प्रयोगमा रोक लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाईएको हो । उहाँले भन्नुभयो “प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ र हराभरा देखिन्छ ।”
उद्योग वाणिज्य संघ माडी शाखासँगको सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्याधिक भएकाले निर्णय कार्यान्वयनका लागि नगरपालिका लागि परेको छ ।
बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका कामहरु सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लागएका छौ ।” वातावरण प्रदुषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा जानकारी गराउन लागिएको उहाँले बताउनुभयो ।
प्लाष्टिकको गिलासमा चिया बिक्री बितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उहाँले बताउनुभयो । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरु भईरहेको छ ।
नगरपालका उपप्रमुख खेम प्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका वनाउन खोजिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरुमा रोक लगाउन खोजिएको हो ।
प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हँुदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाईएको उहाँले बताउनुभयो ।