सनद अधिकारी
चितवन, ५ असार — नेपालको पहाडी भेगमा परम्परागत रूपमा गरिँदै आएको मह शिकार अहिले जोखिम र चुनौतीपूर्ण बन्दै गएको छ । प्राकृतिक जोखिम, मौरीको जीवनचक्रमा क्षति, र वातावरणीय प्रभावका कारण यस पेशालाई सुरक्षित, व्यवस्थित र वैज्ञानिक आधारमा अगाडि बढाउन आवश्यक छ ।
स्थानिय पेसाको संरक्षण, मौरीको बासस्थानको सुरक्षा र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै पर्यटनसँग समन्वय गरेर यो परम्परालाई दिगो बनाउनुपर्ने विज्ञहरूले सुझाएका छन् ।
मौरीपालन विकास केन्द्र, चितवनका प्रमुख सुजन अंगाईका अनुसार, भिर मौरी (ब्उष्क बिदयचष्यकब) उच्च पहाडी क्षेत्रमा चट्टान र झरनामा बस्दै मह उत्पादन गर्छ । यो मौरी ठूलो र उत्पादन क्षमता उच्च भएकाले एउटै गोलाबाट ४० किलोभन्दा बढी मह निकाल्न सकिन्छ । मह वर्षमा दुई पटक, वैशाख–जेठ र कात्तिक–मंसिरमा संकलन गरिन्छ, जसमा वैशाख–जेठको मह गुणस्तरीय र औषधीय गुणले उत्कृष्ट मानिन्छ। यसलाई ‘हिमालयन वाइल्ड हनी’ भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्छ ।
लमजुङ, म्याग्दी, गोरखा, रुकुम, बाजुरा लगायत जिल्लाका भीरमा गुरुङ, मगर, राई समुदायका अनुभवी ‘पर्याङ्गे’हरूले परम्परागत विधिबाट मह निकाल्ने गर्दछन् । तर, यस विधिले धेरै मौरी मर्न जान्छ, लार्भा र प्युपा नष्ट हुन्छन् र रानी मौरीको मृत्यु हुने जोखिम रहन्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा. केदार देवकोटा जलवायु परिवर्तन, जलविद्युत आयोजना र उच्च तनाव विद्युत लाइनहरूले भिर मौरीको बासस्थानमा नकारात्मक प्रभाव पारेको बताउनुहुन्छ ।
लमजुङको मिप्रा गाउँ र बेंसीशहरको साधुखोला भिरजस्ता क्षेत्रमा अझै मह शिकार जारी छ, तर संरक्षणमा थप ध्यान दिन आवश्यक छ । अहिले अनुमति पत्र लिएर मात्र शिकार गर्न पाइन्छ र बजारमा महको मूल्य प्रति किलो २,००० देखि ३,००० रुपैयाँसम्म छ, मुख्य ग्राहक विदेशी पर्यटक हुन् ।
डा. देवकोटाले भिर मौरीको मह औषधीय गुणयुक्त भएको र युरिक एसिड, हाडजोर्नी, रक्तचाप तथा स्नायु रोगमा लाभदायक बताउनु भयो । तर अत्यधिक सेवनले लठ्याउने र बेहोस हुने जोखिम पनि छ भन्ने कुरा सावधान गराउनु भयो ।
भिर मौरीको मह शिकारलाई सुरक्षित र व्यवस्थित बनाई स्थानीय बासिन्दाको पुख्र्यौली पेशा संरक्षण गर्नुपर्ने विज्ञ द्धय अंगाई र देवकोटको भनाई छ । उनीहरूका अनुसार, भिर मौरीलाई पर्यटनसँग जोड्दा स्थानिय समुदायलाई आर्थिक फाइदा पुग्नेछ र मह शिकार परम्परालाई दिगो रूपमा व्यवस्थापन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !