सनद अधिकारी
चितवन) ,२ असार ः सञ्चारमाध्यमहरूले समय र पहुँचअनुसार दिनसक्ने समाचार नै प्रभावकारी हुने सरोकारवालाहरूले बताउनुभएकोछ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘अनलाइन मिडिया, युट्युब र पत्रकारिता क्षेत्रका समसामयिक सवालहरू’ विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रममा वक्ताहरूले सामाजिक एकता र सकारात्मक परिवर्तनका लागि सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पत्रकारहरूले निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । प्रविधिको पहुँच विस्तारसँगै जनमानसमा डिजिटल सामग्रीको प्रभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले समाचार सन्तुलित, सत्यपरक र समयमा आधारित हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सञ्चार क्षेत्र डिजिटल रुपान्तरणको दिशामा अघि बढिरहेको सन्दर्भमा, यसको सकारात्मक पक्ष र चुनौतीहरूलाई समेट्दै नीतिगत ढाँचामा लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नीति प्रभावकारी बनाउन स्थानीय स्तरमा पुगेर जनमत संकलन गर्नु जरुरी छ। देशका जिल्ला जिल्लामा पुगेर राय, सुझाव संकलन गरिरहेका छौं। लिएको सुझावलाई समेटेर व्यवहारिक नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको छ।”
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अहिले पुराना र नयाँ सञ्चारमाध्यमबीच स्पष्ट अन्तर देखिएको उल्लेख गर्दै धेरैजसो माध्यम सामाजिक सञ्जालमा निर्भर हुन थालेको बताउनुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमले स्थानीय मुद्दा र समाचारलाई प्राथमिकता दिनैपर्ने धारणा राख्नुभयो । समाजले खोजेको र आवश्यक सूचनालाई पहुँचअनुसार दिनसक्ने समाचार नै प्रभावकारी हुने उहाँको भनाई थियो ।
प्रेस काउन्सिलका सदस्य बिजयराज अधिकारीले सामाजिक सञ्जालमा आधारित नयाँ मिडियाको नियमनका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा फेसबुक र युट्युबको प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको भन्दै मिडिया पनि त्यस अनुसार रूपान्तरणको बाटोमा जानुपर्ने बताउनुभयो । उहाँका अनुसार हाल नेपालमा १ करोड ६४ लाख फेसबुक प्रयोगकर्ता र १ करोड ५० लाख युट्युब प्रयोगकर्ता रहेका छन्। यस्तो अवस्थामा सञ्चारमाध्यमले डिजिटल माध्यमबाट जानकारी एवं सूचना प्रवाह गर्न सक्षम र परिस्कृत हुन आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । छलफलमा जिल्लाभरका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सो अवसरमा उहाँहरुले पत्रकारिताको अवसर, चुनौती, सामाजिक उत्तरदायित्व र नीतिगत स्पष्टताका विषयमा आ–आफ्नो अनुभव, प्रतिक्रिया र सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।






