चितवनः नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रम अन्तर्गत इच्छाकामना गाउँपालिकामा स्व.शैलजा आचार्यको नामबाट पार्क बनाउने भएको छ । आचार्यको १६ औं स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै पार्क निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ ।

जिल्ला सभापति राजेश्वर खनाल सहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको खनालले जानकारी दिनुभयो । जग्गा प्राप्तीसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व. आचार्यको नाममा पार्क निर्माण गर्ने छन् ।

यस अघि पार्टीले गत असोज २ गते माडी नगरपालिका वडा नं. ५ मा गणेशमान सिंह स्मृति पार्क निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले बि.सं. २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात वटा पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरे अनुसार वाटिका निर्माण थालिएको हो ।

भरतपुरमा यस अघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति पार्क बनाउने, खैरहनीमा शुवर्णशम्शेर, रत्ननगरमा सुशिल कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति पार्क निर्माण गर्न लागिएको खनालले जानकारी दिनुभयो ।

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाईदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको खनालले बताउनुभयो । निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्ने छ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत् गर्न उपयुक्त हुने भएकाले सोही अनुसार काम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस !