
चितवनः व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य पाउन सकेका छैनन् । माग कम भए पछि उत्पादीत चल्ला बिक्न कठिन भएको छ ।
बिक्रि गर्ने समय सम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउँछन् । झण्डै दुई महिना यता ह्याचरी उद्योगीहरुले प्रति गोटा रु १५÷२० मा चल्ला बेच्न बाध्य भएको बताएका छन् । कतिपयले चल्ला बिक्रि गर्ननै नसकेको गुनासो गरेका छन् । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न रु ५५ खर्च हुन्छ । निरन्तर लागत मूल्य भन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरि उद्योगीहरु बैंकीङ् ऋण थपेर चल्न बाध्य भएको उहाँले बताउनुभयो । पोखरेलका अनुसार चल्लाको उत्पादन वढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो संख्या बढेर ३५ लाख नाघेको छ ।
भारतीय क्षेत्रबाट निर्वाध रुपमा चल्ला भित्रिएको व्यवसायीहरु बताउँछन् । नेपाल ह्याचरी उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतीवेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौषम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्रि हुन नसकेको लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार प्रति गोटा रु १३० खर्च हुने लेयर्स कुखुराको चल्ला पनि रु १ सय हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्रि नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ ।
नेपालका ह्याचरी उद्योगहरु हरेक हप्ताको आइतबार र मंगलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा ११८ वटा ह्याचरीले ब्रोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् । कोभिड अघि सम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग संञ्चालनमा थिए । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी रहेका थिए । त्यतिवेला एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो । लेयर्स चल्ला सातामा २ लाख ५० हजारबाट १ लाख ३० हजारमा झरेको छ ।
चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको व्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान बिस्थापित हुनु, भारतीय अबैंध चल्ला भित्रनु लगाएतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने कृषक बिस्थापित हुदैं गएका छन् ।