
चितवनः यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्पतालले फोहोर व्यवस्थापनलाई पर्यावरणमैत्री रुपमा व्यवस्थापन गर्दै आएको छ । फोहोरलाई वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दै आएको छ ।
अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट वायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको श्रेडिङ मेसिनबाट फोहरलाई घटाएर निःसंक्रमित बनाउने गर्दछ ।
अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रका अनुसार अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ । उहाँका अनुसार बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहोरहरूलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ ।
माइक्रोवेभ टेक्नोलोजीसहितको श्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहोर प्रशोधन गर्ने मुख्य उपकरण हो । अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा, र प्लास्टिक जस्ता सबै प्रकारका फोहोर मिसाएर राख्न सकिन्छ । यो मेसिनको क्षमता २५० लिटर रहेको उहाँले जानकारी दिनुभयो । मिश्रले भन्नुभयो “यसले करिब ३० मिनेटमा फोहोरलाई प्रशोधन गर्छ । मेसिनभित्र रहेको श्रेडर ब्लेडले फोहोरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ ।”
प्रशोधनपछि निस्कने फोहोर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्दछ । यस प्रक्रियाबाट फोहोरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उहाँले जानकारी दिनुभयो । यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रुपमा बढी सुरक्षित मानिएको उहाँको भनाई छ ।
माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदुषण नल्याउने उहाँले बताउनुभयो । मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छोड्ने गरिएको छ ।
अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहोर संकलन हुने गरेको छ । हुन्छ । यो फोहोरलाई रङ्गअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहोर संकलन गर्ने बेलादेखि नै कलर कोडिङ अनुसार (रातो, हरियो डस्टबिन) फोहोर छुट्याइन्छ । त्यसपछि संकलन स्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ । कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोसाक सहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उहाँले बताउनुभयो । यद्यपी फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीहरूलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उहाँको भनाइ छ ।
अस्पतालजन्य फोहोर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेल बताउनुहुन्छ । अस्पतालले फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानी समेत गर्न “फोहोरबाट मोहोर” कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । यस अन्तर्गत रिसाइकल गर्न मिल्ने वस्तुहरू बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा पौडेल उल्लेख गर्नुहुन्छ ।
डा. पौडेलका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ । क्यान्सर जस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहोरको उचित व्यवस्थापन महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुहुन्छ ।
अस्पतालले हालको फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहोर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उहाँले बताउनुभयो । अस्पतालले हाल अस्पातलबाट निस्कने पानीको फोहोरलाई नर्कट प्रणाली र साना ढुंगाहरूको प्रयोगबाट शुद्धीकरण गरिन्छ । शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न एउटै कर्मचारीलाई निरन्तर यो काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन गर्ने कुरामा आफूहरु सचेत रहेको समेत उहाँले बताउनुभयो ।