चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फार्मेसी थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएकोमा बिरामीको चाप वढेपछि फार्मेसी थप गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा बिस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनु पर्ने बिरामी डेकेयरमा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओपीडि फर्मेसीबाट बीमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरंग भवनभित्र विपन्न सहित नगदमा चौबीसी घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । डेकेयर फर्मेसीबाट विपन्न मार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभईकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उहाँले जानकारी दिनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीहरुलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनिकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताउनुभयो । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी संञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !