चितवनः मुग्लिन–मलेखु सडकको करिब ८ किलोमिटर भाग कालोपत्रे गरिएको छ । थप दुई किलोमिटर कालोपत्रे गर्ने तयारी गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवन तर्फ लेवाटार, कुलिनटार, चुम्लिङ्टार र फिस्लिङ् वजार क्षेत्रमा कालोपत्रे गरिएको छ । धादिङ तर्फ मझिमटार, चरौदी र बिशाल टारमा चार लेन सडक कालोपत्रे गरिएको हो । १४ मिटर फराकीलो कालोपत्रे गरिएको छ । धादिङ्को मझिमटार र बिशालटारमा झण्डै २ किलोमिटर क्षेत्र कालोपत्रेको तयारी गरिएको छ ।
नेपालले भन्नुभयो “करिब ८ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ । मौषमले साथ दियोभने थप दुई किलोमिटर कालोपत्रे गदैंछौ ।” अहिले सम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उहाँले जानकारी दिनुभयो । असार सम्ममा चार वटा पुल सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । ती पुलमा बिम (गडर) राख्नका लागि तयारी गरिएको छ । हेभि उपकरणमार्फत बिम पुलमा चढाउनु पर्ने हुन्छ । आयोजनाका इन्जिनियर बिजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । अरु दुईवटा पुलको फाउण्डेसनको काम भई रहेको छ । चितवन तर्फको बारवाङ् र मौवा खोला एबं धादिङ्ग तर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयार गरिएको छ भने धादिङ् तर्फका चरौदि र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ ।
असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ । बिम चढाउँदा सडक वन्द गर्नुपर्ने दरै वताउनुहुन्छ । उपकरण आएपछि स्थानिय प्रशसन संग समन्वय गरेर काम गर्ने उहाँले जानकारी दिनुभयो । यो खण्डमा २.२ किलो मिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुने छ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा हुने छ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने छ ।
बि. सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाईएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आव्हान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलब ८६ किलोमिटर पर्दछ ।
शर्मा–जेडआईसीजीले रु ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको बिभिन्न क्षेत्रहरुमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगाएतका काम भईरहेको छ । यो सडक बिश्व बैंकको सहयोगमा बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस !