चितवनः भरतपुर महानगरपालिका भित्रका बिद्यालयहरु सहभागि हुने भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट सुरु हुने भएको छ । पालिका भित्रका ७५ वटा बिद्यालयको सहभागीता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुने छ ।
चितवन जिल्ला फुटवल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रबर्धनमा प्रतियोगिता गर्न लागिएको हो । महानगर भित्रका सामुदायीक तथा संस्थागत बिद्यालयहरुको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने संघका महासचिब रामहरी ढकालले जानकारी दिनुभयो । असार ४ गते सम्म छनोट चरणका खेलहरु हुने छन् । ढकालका अनुसार पहिलो चरणबाट २४ वटा बिद्यालय छनोट भएर दोस्रो चरणमा पुग्ने छन् । १७ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाईने छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको कृष्णपुर खेल मैदान, वडा नम्बर १२ मा रहेको रामबेल खेलमैदान, वडा नम्बर १४ को सुन्दरवस्ती खेल मैदान र वडा नम्बर ५ मा रहेको स्मल हेभेन बोडीङ्को खेल मैदानमा पहिलो चरणका खेलहरु हुने छन् । भरतपुर मेयर कप फुटवल लिगमा महानगरका १ हजार ४०० भन्दा बढी युवा खेलाडीहरुको सहभागीता रहने छ । असार १४ गते सम्म हुने प्रतियोगिता सम्पन्न गर्नका लागि रु १२ लाख खर्च हुने अनुमान संघले गरेको छ । प्रतियोगिताको औपचारीक उद्घाटन असार ४ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस !