चितवनः चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काईएको एउटा भाले गैंडा (माईला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको बैशाख २४ गतेको निर्णय अनुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ ललितपुर पठाईएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बच्चा गैंडालाई चिडियाखाना पठाईएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अबस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काईएको थियो । मन्त्रालयको निर्णय अनुसार अर्को पोथि गैंडा पनि लैजाने तयारी गरिएको छ । उहाँले भन्नुभयो “३० महिनाको पोथि गैंडा (पुजा)लाई पनि लैजाने तयारी गरीएको छ ।”
बुधबारनै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिन पछि पठाउने तयारी गरिएको उहाँले बताउनुभयो । सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काईएका गैंडा लैजादाँ मानविय क्षती कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।






