प्रस्ताव सुवेदी

चितवन, २० जेठः मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा तीन करोड ६३ लाख १८ हजार माछाका भुरा बिक्री गरेको छ । चालु आर्थिक वर्षमा ६ करोड ५३ लाख माछाका भुरा बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म लक्ष्य अनुसार माछाका भूरा बिक्री हुन नसकेको हो ।

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ् गरिएका (७ दिने) भूरा ३ करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, पाँचदेखि ८ ग्रामका (फिङ्गलिङ्क) २ लाख १५ हजार र पाङ्गास २ लाख ५३ हजार ४०७ गोटा बिक्री गरिएको छ । खाने माछा १७ क्विन्टल ९८ किलो बिक्री गरिएको छ । अहिलेसम्म रु २८ लाख ५० हजारको माछाका भूरा बिक्री गरिएको उहाँले बताउनुभयो ।

केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ् गरिएका (७ दिने) भूरा ६ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, पाँचदेखि ८ ग्रामका (फिङ्गलिङ्क) ५ लाख र पाङ्गास १ लाख गोटा बिक्री गर्ने लक्ष्य राखिएको छ । खाने माछा १ टन बिक्री गर्ने लक्ष्य राखिएको दाहालले बताउनुभयो ।

केन्द्रले चितवन सहित २५ जिल्लामा माछाको भूरा पु¥याउँदै आएको छ । उहाँले भन्नुभयो “जिल्लामा निजी क्षेत्रबाट समेत माछाका भुरा बिक्री वितरण हुँदै आएको छ । त्यसका कारण भूरा लैजान आउनेको संख्यामा कमी आएको छ ।” बारा र पर्सा जिल्लाबाट आउनु पर्ने माछापालक किसान अहिले सोचे अनुसार नआएको उहाँले बताउनुभयो । चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भूरा उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवन सहित नवलपरासी (वर्दघाट सुस्ता पूर्व), नवलपारसी (र्वदघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो । अझै एक महिनाभन्दा वढी समय रहेकाले भूरा माछा लक्ष्य अनुसारको बिक्री हुने उहाँले अनुमान गर्नुभयो ।

केन्द्रले १५ हेक्टर जलासयमा माछाका भुरा र खान योग्य माछाहरु उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरिन्छ । माछाका भुराबर्ष भरीनै बिक्री तितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले माछाका भुरा लिन आउनेलाई बर्ष भरीनै बिक्री बितरण गर्ने गरेका छौ ।” बि. सं. २०२६ सालमा खाने माछा बिक्री बितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले बि. सं. २०६४ सालबाट भुरा माछा पनि माग अनुसार बिक्री वितरण गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस !