चितवनः जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा आधारित घर नम्बर वितरण शुरु गरेको छ । नगरपालिकाको वडा नं. ४ बाट घरनम्बर वितरण आजदेखि थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं. ४ को वीपी चोक स्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको शुरुवात गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घरनम्बर वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छाै, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरि नै घर नम्बर राख्छौं ।”

आउँदो वर्षको बजेटमा रु. ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घरनम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने, नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिनुभयो । वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरहरुमा क्रमशः नम्बर वितरण गर्दै जाने बताउनुभयो । आठ सय नम्बर प्लेट आईसकेको भन्दै उहाँले यो वर्ष नसकिएका घरहरुमा आगामी वर्ष काम गरिने बताउनुभयो ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिईने छ । सो वडामा आठ सय हाराहारी घरधुरी रहेको उहाँले जानकारी दिनुभयो । कालिका नगरपालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याईएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ । यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र वस्ती देखिन्छ ।
जीपीएस एक अन्तरिक्ष–आधारित उपग्रह नेभिगेसन प्रणाली हो, जसले सबै मौसम परिस्थितिहरूमा स्थान र समय जानकारी प्रदान गर्दछ । जीपीएसको मद्दतले आफ्नो स्थान पत्ता लगाउन सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !