चितवनः गर्मी छल्न र प्रजनन्का लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । फागुन देखि यहाँ आउन सुरु गरेका अधिकांश चराहरुले बैशाख र जेठ महिनामा बच्चा कोरल्ने गर्दछन् ।
बर्ड एजुकेसन सोसाईटी बागमती प्रदेशका अध्यक्ष बासु बिडारी बास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातीका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौषममा आएको बताउनुहुन्छ । ती चराले बच्चा कोरलेर आँफु संगै लैजाने उहाँको भनाई छ । बच्चा उड्न सक्ने भएपछि भदौ असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन् ।
विश्वमा ११ हजार भन्दा वढी प्रजातीका चरा पाईने तथ्याङ्क छ । जस मध्ये ४० प्रतिशत हाराहारीले बसाई सराई गर्ने बिडारी बताउनुहुन्छ । उहाँका अनुसार यस क्षेत्रमा बर्षमा २ पटक आगन्तुक चराहरु आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौं ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौषममा रसियाको साइबेरिया र मंगोलियाबाट नेपाल हुँदै भारत सम्म ती चरा पुग्ने उहाँले जानकारी दिनुभयो ।
गर्मीमा यहाँ आउने चरा भारत, श्रीलंका, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन् । यी चरा नदी तटिय, वन र घाँसे मैदानमा रमाउने गर्दछन् । बिडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाती धेरै हुने गर्दछन् ।
वर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष बिजय गिरी यो मौषममा सुन्दर प्रजातीका चराहरु आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउनुहुन्छ । रुख, झाडीहरुमा बनाईएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरु देख्न सकिने उहाँको भनाई छ । फागुन देखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोज सम्ममा फर्की संक्ने उहाँले जानकारी दिनुभयो । नेपालमा ९ सय प्रजातीका चरा पाईन्छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातीका चरा पाईने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !