चितवन, १६ जेठ ः चितवन माडीका अमृत परियार सडक दुर्घटनाका कारण अपाङ्ग हुनुभयो । अपाङ्ग भएपछि उहाँकोे जीवनयापनमा समस्या भयो । स्पाईनल इन्जरी संघ नेपाल अन्र्तगत भ्वाईस परियोजना मार्फत उहाँले सिलाई कटाई तालिम लिएपछि उहाँको जीवनस्तर अहिले सहज भएको छ । हाल उहाँ माडीमै सिलाई व्यवसाय गरेर बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “ मैले सन् २०२२ मा ४ महिनाको तालिम लिए । त्यलगतै गाउँमै सिलाई व्यवसाय गरिरहेको छु । ” अहिले गरेको कामबाट घरखर्च चलेको उहाँले बताउनुभयो ।
भरतपुर ११ की अर्चना रेग्मीले हाल स्तानक तह अध्ययन सकेर भ्वाईस परियोजना मार्फत डिडिटल मार्केटिङको तालिम लिँदै हुनुहुन्छ । जन्मेको नौ महिनामै आगोमा परेर अपाङ्ग हुनुभएकी रेग्मी अध्ययनसँगै तालिम लिएर रोजगारीको तयारीमा हुनुुहन्छ । उहाँले अध्ययनसँगै जीवनउपयोगी सिपको तालिम आवश्यक रहेको बताउनुभयो ।
अपाङगता भएका नागरिकको सुखी जीवनस्तरको बारेमा आज भरतपुरमा भएको एक दिवसिय राष्ट्रिय परामर्श कार्यशाला सम्पन्न भएको छ । कार्यशाला स्पाईनल इन्जरी संघ नेपाल, मिराल वेलफेर फाउण्डेशन र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी कोइकाको संयुक्त आयोजनामा भएको हो ।
कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगर उप–प्रमुख चित्रसेन अधिकारीले भौतिक विकास निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले महानगरले सोहीअनुरुपका संरचना निर्माणमा जोड दिएको उल्लेख गर्नुभयो । अपाङगता भएका नागरिकको जीवनस्तर सुखी बनाउन दक्षता अनुसारको जीवनोपयोगी सीप आवश्यकता रहेका बताउँदै उहाँले अपाङ्गको क्षेत्रमा कामगर्ने सस्थाहरुसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
स्पाइनल इन्जरी संघका अध्यक्ष डा अनिलबहादुर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई समान अवसर दिनुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरु समाजमा पछि पर्न नदिनको लागि क्षमता अनुसारका तालिम एवं सीप आवश्यक रहेको औल्याउनुभयो । अपाङ्गता भएका नागरिकले पनि अन्य नागरिकसरह समाजमा योगदान गर्न सक्ने उहाँको भनाई थियो ।
स्पाईनल इन्जरी संघ नेपालकी कार्यकारी निर्देशक इशा थापाले नेपालमा धेरैजसो अपाङ्गता भिरपाखाबाट लडेर हुने जानकारी दिनुभयो । उहाँले संघले हालसम्म ५ हजार जनाको पुर्नस्थापना गरेको बताउनुभयो । तालिम मात्र नभएर व्यवस्थापनको पक्षमा पनि भ्वाईस परियोजना मार्फत कामहरु गर्दै आएको थापाको भनाई छ । भ्वाईस परियोजना मार्फत ३ सय ९६ जनालाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यशालामा चितवन र मकवानपुरका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु, विभिन्न तालिम प्रदायक संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका व्यक्ति सहित १ सय ५० जनाको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा मिराल फाउण्डेशनकाकी व्यवस्थापक पाइक छेङ्घी, रोटरी क्लवका इश्वरी ढकाल, भानु शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।






