
चितवनः यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक मायस्थेनिया ग्राभिसको शल्यक्रिया गरिएको हो ।
दाङकी २२ वर्षिया एक महिलाको जेठ ८ गते सफल शल्यक्रिया गरिएको हो । सफल शल्यक्रियापछि आज अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी मायस्थेनिया ग्राभिसको नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराईएको हो । अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा. ठाकुरले काठमाण्डौंमा एक वर्ष अघि रोग पहिचान गरी ती महिलाले औषधिको सेवन गर्दै आएको जानकारी दिनुभयो ।
यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाईप राखेर शल्यक्रिया गर्ने गरेको भन्दै डा. ठाकुरले भन्नुभयो “यस पटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाईप नै नराखी शल्यक्रिया गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने उहाँले बताउनुभयो । ‘मायस्थेनिया ग्राभिस’को शल्यक्रिया नेपालमा नै निकै कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा. ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको अर्काे तरिकाबाट शल्यक्रिया गर्ने गरेको बताउनुभयो । यो शल्यक्रिया निकै जोखिमपूर्ण मानिन्छ ।
यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले नै निकै कमजोर हुने भन्दै डा. ठाकुरले त्यसमाथि मसल रिल्याक्सिङ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नु पर्ने बाध्यता हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेरिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”
अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा नन इन्टुवेटेड प्रविधि प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाईप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाईप मार्फत् मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अंगलाई प्यारालाईज गर्दथ्यो ।” ‘मायस्थेनिया ग्राभिस’का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा. थापाको भनाई छ । आधारभूत (बेसिक) इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाईएको उहाँको भनाई छ ।
यो रोगले कुनै पनि उमेरका मानिसहरूलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्ष मुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ । डा. ठाकुरले विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामी भेटिने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनिया सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताउनुभयो ।