चितवनः न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरुमा प्रथम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मुल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको हो ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार मन्त्रालयले देशभरीका १५ वटा संघीय अस्पतालमा यो अनुगमन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्क सहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिनुभयो । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा वढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उहाँले बताउनुभयो ।
सुशासन तथा ब्यवस्थापन, चिकत्सकीय सेवा र फोहोर मैला लगायतका वस्तुहरुको ब्यवस्थापनमा अन्र्तगत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनगमन गरेको थियो ।
मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागिरहेको बताउनुभयो । “अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो”, उहाँले भन्नुभयो ।
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउदै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बि.सं. २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।






