चितवनः चितवनको पहाडी क्षेत्रमा पर्ने पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । गर्मी मौसममा शितलता लिन र सूर्याेदयको दृश्यावलोकन गर्न यहाँ दैनिक पर्यटहरु आउने गरेका छन् ।
ती पर्यटकलाई बास र खाना खुवाएर नै यहाँका स्थानीयको जीविको पाजर्न हुने गरेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ७ उपरदाङगढीमा ३५ घरधुरी रहेका छन् । जस मध्ये १० घरधुरीमा होमस्टे (घरबास) सञ्चालनमा रहेको छ । उनीहरुले त्यही घरबासबाट आफ्नो घर व्यवहार चलाउने गरेको सिराइचुली होमस्टेका सञ्चालक गणेश वहादुर थापाले वताउनुभयो । उहाँका अनुसार यहाँ बि. सं. २०७५ सालदेखि घरबास सुरु गरिएको हो ।
सुरुवातमा यहाँ आएका पाहुनालाई बास बस्न समेत समस्या हुने गरेपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अबधारणा अघि सारिएको उहाँले बताउनुभयो । अहिले दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । यहाँ अहिले तत्कालका लागि १५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक विल वहादुर थापा मगर बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँ पर्यटक आउने समय फागुन चैतदेखि असोजसम्म हो । गर्मी छल्न र यहाँको महत्व बुझ्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् ।”

जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उहाँले बताउनुभयो । चेपाङ, गुरुङ् र मगर जातीको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गर्ने गरिन्छ । यहाँ आएका पाहुनालाई बिशेष गरी स्थानीय जातका कुखुरा, सिस्नो, नीगुरो, कोदो, फापरको रोटी, ढिडो खुवाउने गरिन्छ ।

घरबासको कमाईले छोरा छोरी पढाउने र घर खर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मंगल वहादुर थापा मगर वताउनुहुन्छ । उहाँका छोराछोरी अहिले कक्षा १० र १२ मा अध्ययन गर्दै आएका छन् । आफ्नो अन्य आयआर्जन गर्ने कुनै ठाउँ नभए पछि घरबास र खेतीपातीलाईनै मुख्य पेसाको रुपमा लिएर काम गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “शुक्रबार र शनिबार पाहुना धेरै आउँछन् । अन्य वार कम हुने गर्छन् ।”

उहाँले बि. सं. २०७८ सालदेखि घरबास सञ्चालन गर्दै आउनु भएको हो । पाहुना हुँदा पाहुनको सत्कार गर्ने र नहुँदा खेतीपाती गरेर यस क्षेत्रका बासिन्दाले आफ्नो दैनिकी चलाई रहेका छन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरवासलाई प्रबद्र्धनका काम गर्दै आएको बताउनुभयो । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको बताउनुभयो ।

गढीमा इच्छाकामना गाउँपालिकाले एतिहासीक किल्लाको पूर्बाधार निर्माण, कोतघर निर्माण, धारा, लगायतका संरचनाहरु निर्माण गरिरहेको छ । कोतघर मात्रै रु. १ करोड ३५ लाख खर्च गरेर पुरानै शैलीमा बनाईएको छ । जहाँ ऐतिहासिक वस्तुहरुप्रदर्शन गर्ने तयारी रहेको छ । जिल्लाको सदरमुकाम भरतपुरबाट करिब एक घण्टा तीस मिनेटमा गढी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !