चितवनः बागमती प्रदेशको राजधानी वन्न नसकेको चितवन जिल्लालाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाहरुले जिल्लालाई पर्यटकीय राजधानी वनाउन माग गरेका हुन ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाहरुको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरे संगै आँफुहरुले पहल थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रुपमा आग्रह गर्दै छौ ।” पर्यटकीय दृष्टिले यहाँ प्रचुर सम्भावना रहेकाले प्रदेशले नीति तथा कार्यक्रम र वजेटमा समाबेश गरेर जिल्लालाई पर्यटकीय राजधानी वनाउनेमा आफु बिश्वस्त रहेको अधिकारीले वताउनुभयो ।
पालिका र सरोकारवालाहरुको सहयोगमा जिल्ला समन्वयले आबश्यक पहल कदमी गर्ने उहाँ बताउनुहुन्छ । आगामी वजेटमा समाबेश गर्नेगरी राजधानी घोषणा हुन सकेमा समग्र जिल्ला संगै प्रदेशका लागि पनि राम्रो हुने अधिकारीको भनाई छ ।
जिल्लाका सात पालिकाका प्रमुख एबं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताउनुभयो । भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रुपमा मनाएको थियो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले बागमती प्रदेशका १३ जिल्ला मध्ये चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले बागमती प्रदेशको राजधानी वन्न सक्ने जिल्ला भएको भन्दै पर्यटकीय राजधानी वनाउन सकेमा यहाँको पर्यटकीय गतिबिधि थप चलायमान हुने बताउनुभयो ।
नेपाल सरकारको १०० गन्तव्यमा बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने बागमती प्रदेश सरकारको एक जिल्ला एक उत्कृष्ट गन्तव्यमा समावेश मेघौली चितवनमै पर्छ ।
पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्यहरु, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधारहरु भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताउनुभयो ।
पर्यटन विज्ञ सुवेदीका अनुसार चितवनको पर्यटन क्षेत्रमा ५० अर्ब बढी लगानी भईसकेको छ भने ठुला–ठुला पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । यस्तै जिल्लामा १५ हजारको शैय्या क्षमता रहेको छ । ६० वटा भन्दा बढी गन्तव्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !