
चितवनः गत वर्षको असार २८ गते राती दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशुलीमा खसेका बसका यात्रु मध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । ती मध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । ती मध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् । ती मध्ये ७ जना भारतीय यात्रु रहेकोमा दुई जना मृत फेला परेका थिए भने ४ जना अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र. ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । ती मध्ये ३ जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । ती मध्ये भारतीय ४ जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशुलीमा खसालेको थियो । उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाईएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस बस फेला पार्न सकेका थिएनन् । त्रिशुलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भएपनि बेपत्ता यात्रु र बस फेला नपरेका हुन् । कतिपय शव त्रिशुली र नारायणीका विभिन्न क्षेत्रबाट फेला परेका थिए । दुई वटा शव भारतमा फेला परेका थिए ।