
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षायाममा हुन सक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम भएका छन् । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाईएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरुमा पहिरो नियन्त्रणका काम भएका छन् । गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ससाना चेकड्याम निर्माण गरिएको उहाँले बताउनुभयो । यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेकड्याम र खोल्सो बनाउने (लाईनिङ्) को काम भएको छ ।
कालीखोला लगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकता अनुसार पहिरो रोकथामका काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौं ।” पहिरो आईहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उहाँ बताउनुहुन्छ ।
कार्यालयले सडक खण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी ट्रिपर सहितका उपकरण राखिएको उहाँले जानकारी दिनुभयो । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउनका लागि आबश्यक तयरी गरिएको बताउनुभयो । उहाँका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरुको बिचमा यस अघि छलफल गरी तयारीको काम सुरु गरिएको छ । गत वर्षको असार २८ गते दुई वटा रात्री बस बगाउँदा ६२ जना हाराहारीलाई बगाएको थियो । ती मध्ये कतिपय अझै बेपत्ता छन् । ती दुई बस समेत फेला परेका छैनन् ।