चितवनः जिल्लाका ५ हजार किसानलाई स्रोत किसानको रुपमा बिकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनिकरणका उपायहरु र जलवायु परिवर्तनमा पशु चौपायले पार्ने असरका बारेमा जानकारी गराईने छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केन्द्रीय दुग्ध सहकारी संघको सक्रियता एबं हेफर इन्टरनेस्नलको सहयोगमा यहाँका किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुवाती स्वरुप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एबं प्राबिधिक र नीजि क्षेत्रका प्राबिधिकहरुलाई आजबाट तालिम सुरु गरिएको हो । तीन दिन सम्म पशु चिकित्सक एबं प्राबिधिकलाई तालिम दिएर उनीहरुले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् ।
तालिम उद्घाटनको अबसरमा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दुध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको बिषयमा ज्ञान लिई दुबैको समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार यसरी तालिम लिएका ५ हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने छन् ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर वहादुर कुवँरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर वनाउनका लागि यो आबश्यक रहेको बताउनुभयो । उहाँका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पनि पशुपालन अभ्यास सिक्न पाउने छन् ।
हेफर इटरनेस्नलका कार्यक्रम संयोजक डा. लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर वनाउनका लागि पशुपालन क्षेत्रमा काम गरिएको बताउनुभयो । यहाँको असल अभ्यासले देशलाईनै नतिजा दिने गरी काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । किसानबाट किसानलाई नै ज्ञान र सिप दिनका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आबश्यकता रहेको बताउनुभयो । यसका लागि तीनै तहको सरकारले सहजिकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश दुग्ध बिकास बोडका उपाध्यक्ष हरि प्रसाद पौडेलले दुध उत्पादनमा प्रदेशलाई दुग्ध उत्पादनका क्षेत्रमा काम गर्नका लागि यस्ता कार्यक्रमहरु फलदायी हुने बताउनुभयो । यस कार्यक्रममा प्रदेश सरकार साथमा रहने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !