
चितवनः गत साता आएको हावा हुरी सहितको वर्षाले जिल्लामा लगाईएको केरा खेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाईएको केरामा क्षति भएको हो ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोका अनुसार गएको बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा लगाईएको केरामा क्षती पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशत क्षति भएको उहाँले बताउनुभयो । शुक्रबार आएको हावाहुरी भरतपुर महानगरपालिका वडा नं. २३ र २६ मा लगाईएको केरामा क्षति पुगेको छ । यस्तै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको उहाँले बताउनुभयो । ती क्षेत्रमा पनि १५ देखि २० प्रतिशत केरामा क्षति भएको उहाँको भनाई छ ।
केरा खेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरे उत्पादन लिने समयमा आएको हावाहुरीले केरामा क्षति पु¥याएको बताउनुहुन्छ । आफु र अन्य केरा व्यवसायी किसानको बारीमा लगाइएको केरामा हावाले असर गरेको उहाँले बताउनुभयो । केराका बोटहरु भाँचिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकिरण अधिकारीका अनुसार हावा–हुरीले केरा किसानको कति क्षति भयो भन्ने वास्तविक तथ्याङ्क संकलनको काम भईरहेको बताउनुभयो । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि ९ जातको केरा लगाईदै आईएको छ । यहाँका तीन हजार विगाह क्षेत्रफलमा सात सय किसानले केरा खेति गर्दै आएका छन् ।