चितवनः चितवनमा एक व्यक्तिले खुर्पा प्रयोग गरी दुई बालबालिकाको हत्या गरेका छन् । हत्यापछि आफूले समेत आत्महत्याको प्रयास गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ किसान चोक नजिक घर भएका ४२ बर्षिय लिलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । दुई जनालाई आक्रमणपछि आफुले पनि आत्महत्याको प्रयास गरेका थिए । आज बिहान ९ः४५ बजेको समयमा विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी ७ बर्षिया प्रभा गिरी र दाजु दया गिरीका ५ बर्षिय छोरा सजन गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । त्यस पश्च्यात उनले खुर्पा आफैमाथि प्रहार गरेको उहाँले जानकारी दिनुभयो । घटना लगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल ल्याईएकोमा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

निज गिरी पूर्व सैनिक रहेको र मानसिक सन्तुलन ठिक नभएको अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिनुभयो । बिद्यालय जान लागेका बालबालिकालाई भित्र लगि खुर्पा प्रहार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !