
चितवन, १ जेठ ः जिल्लाबाट उत्पादन भएर बिक्रीका लागि गएका तरकारीहरुमा रासायनीक बिषादीको प्रयोग वढी देखिएसँगै विज्ञहरुले यसको प्रयोग घटाउन किसानहरुलाई आग्रह गरेका छन् । केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले आयोजना गरेको बिषादी न्यूनिकरण जनचेतनामूलक प्रशिक्षण कार्यक्रममा कृषि विज्ञहरुले रासायनीक बिषादीको प्रयोग कम गरेर प्राङ्गारिक तर्फ केन्द्रत हुन कृषकहरुलाई आग्रह गरेका हुन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बरिष्ठ वैज्ञानिक घनश्याम भण्डारीले रासायनीक बिषादीको प्रयोगले कृषकका सत्रु तथा मित्र जीवहरु दुबैलाई असर गर्ने र प्रयोग गर्दा समेत मानव स्वास्थ्यमा समस्या हुने भएकाले यसको प्रयोग घटाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “विज्ञसँगको समन्वयमा रासायनीक बिषादीको समुचित प्रयोग गर्नु पर्छ ।” अहिले जथाभावि प्रयोग गर्दा यहाँको उत्पादनमा बिषादीको मात्रा वढी देखिएको उहाँले बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका किट विज्ञान बिषयका प्रध्यापक डा. सुन्दर तिवारीले बिषादीको प्रयोग गरिसके पछि कति अबधि राख्नु पर्छ भन्ने कृषकमा ज्ञान नभएकाले तरकारीमा बिषादीको मात्रा बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सामान्यतया तरकारीमा बिषादी प्रयोग गरेको एक सातासम्म टिप्न मिल्दैन । यहाँ भोलि बिक्रि गर्ने तरकारीमा आज बिषादीको प्रयोग गर्ने गर्दा समस्या देखिएको छ ।” उहाँले किसानको सत्रु जीव र मित्र जीव दुबैलाई एवं उत्पादक तथा उपभोक्ता सबैको स्वास्थ्यमा असर गर्ने भएकाले बिषादीको प्रयोग कम गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
बिषादीको प्रयोगले उत्पादन पनि घट्दै गएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीले तरकारीमा प्रयोग गरिने बिषादी न्यूनिकरण गर्न सकेमा मात्र स्वस्थ जीवन बिताउन सकिने बताउनुभयो । यहाँ उत्पादित तरकारी देशका बिभिन्न स्थानमा पुग्ने गरेको बताउँदै उहाँले बिज्ञसँगको परामर्शमा मात्र बिषादीको प्रयोग गर्न आग्रह गर्नुभयो । जथाभावी बिषादीको प्रयोगले मानव स्वास्थ्यमा असर पर्ने भन्दै उहाँले कृषि क्षेत्रलाई रासायनीक बिषादी रहित वनाउन लाग्न जरुरी रहेको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत्र १९ गते पठाईएको बोडीमा ९२ दशमलब ४५३ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो भने वैशाख १४ गते पठाईएको करेलामा ७५ दशमलब ००७ प्रतिशत भेटिएको थियो । यसले गर्दा चितवनको तरकारी उपभोग गर्न हुन्न भन्ने सन्देश गएकाले किसानहरु सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले तरकारीमा देखिएको बिषादीले मानव स्वास्थ्यमा समस्या पर्ने भएकाले उपभोक्ता अधिकार संरक्षण सम्बन्धी कानुन आकर्षित हुने भन्दै उहाँले बिषादीको प्रयोग कम गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासन कानुनी प्रक्रियामा जानुभन्दा बेलैमा बिषादीको प्रयोग घटाउन किसानलाई सुझाउनुभयो ।
यस सहकारीबाट दैनिक उत्पादन भएर १० टन तरकारी बाहिर जाने गरेको छ । ती तरकारीमा बिषादी देखिएपछि आफुहरु चिन्तित भएर सुधारको पक्षमा लागेको संस्थाका पूर्ब अध्यक्ष कान्छा मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “३५ वर्ष देखि गर्दै आएको व्यवसायीक खेतीमा सामान्य कुराले समेत ठूलो असर पर्दो रहेछ ।”
संस्थाका अध्यक्ष एबं अगुवा कृषक जनकराज पुरी तरकारीमा देखिएको बिषादी व्यवसायकी किसानकोभन्दा पनि गुजारामुखि किसानको हुन सक्ने बताउनुभयो । तरकारीमा बिषादीको प्रयोग वढेको सूचना पाएसँगै कृषकहरुमा बिषादीको प्रयोगका बारेमा सचेतना जगाउने काम गरिएको उहाँको भनाई छ ।
उत्पादित तरकारीमा कार्बामेट र आर्गानोफस्फेट ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा केहि दिन क्वारेन्टाईनमा राख्नु पर्ने र ४५ प्रतिशतभन्दा बढी देखिएमा बिर्सजन गर्नुपर्ने हुन्छ । पछिल्ला दिनमा उपभोग्य तरकारीमा बिषादीको प्रयोग वढ्नु चिन्ताजनक रहेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख कँडेलले बताउनुभयो ।