
चितवन, १ जेठः जिल्लाको समग्र विकासका लागि संघीय सरकारले बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलब ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउन यता हालसम्म पूँजीगत खर्च रु ३ अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
जिल्लाको समग्र विकासका लागि रु ८ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ बिनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाहरुले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आर्थिक वर्षको अन्त्यमा गर्ने भएकाले पूँजीगत खर्च कम भएको कार्यालयका कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारले सडक, पुल पुलेसा, भौतिक संरचनाहरु निर्माणका लागि बिनियोजन गरेको बजेट यस कार्यालयले भुक्तानी गर्ने गर्दछ ।
कार्यालयले चालु आर्थिक वर्षमा चालु खर्च ८० दशमलब २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० बिनियोजन गरिएकोमा रु १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ । चालु बजेटमा स्थानीय तह र संघीय अस्पतालहरुलाई अनुदान स्वरुप रकम आउने भएकाले धेरै देखिएको हो । अनुदानको रकम चौथो त्रैमासिकको पठाउन बाँकी रहेको उहाँले बताउनुभयो । विकास निर्माणका कामहरु भए पनि बिलिङ् र भुक्तानी आदेशमा ढीला हुँदा पूँजीगत खर्च कम भएको देखिएको हो ।