चितवन, ३१ बैशाखः जिल्ला कारागार कार्यालय चितवनले कारागार कार्यालयमा कैदी वन्दीको चाप बढे संगै १४० जना कैदीलाई स्थानान्तरण गरेको छ । चालु आर्थिक वर्षको साउन यता ती कैदीलाई देशका बिभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ् कारागार स्थानान्तरण गरिएको छ ।

भिमफेदी कारागार कार्यालय मकवानपुरमा १ जना, काठमाडौंको जगन्नाथ देवलमा ७ जना, हाल केन्द्रीय कारागार रहेको खम्बाक्याम्प नुवाकोटमा ८७ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २९ जना, तनहुँ कारागार १ जना, रसुवा कारागार ८ जना र डील्लीवजार कारागार काठमाडौंमा २ जनालाई स्थानान्तरण गरिएको हो ।

क्षमता भन्दा बढी कैदीवन्दी भएका कारण उनीहरुलाई स्थानान्तरण गरिएको हो । अहिले कारागार कार्यालय चितवनमा ७२० जना कैदी वन्दी रहेका छन् । ४७० जना पुरुष कैदी वन्दीको क्षमता रहेको बन्दी गृहमा अहिले ६७५ जना र ३५ जनाको महिला वन्दी गृहमा ४२ जना रहेका छन् । उनीहरुसंग आश्रीत तीन जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाले कैदीवन्दीको चापका कारण उनीहरुलाई स्थानान्तरण गरिएको बताउनुभयो । यहाँ चितवन जिल्ला अदालत र नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब) अदालतबाट कैदी वन्दी पठाउने गरिएको छ । ती संगै स्वास्थ्य उपचार प्रयोजनका लागि देशका बिभिन्न जिल्लामा रहेका कारागारबाट यहाँ स्थानान्तरण भएर आउने कैदीका कारण कैदीवन्दीको चाप वढेको हो । अहिले कारागारमा कैदीको चाप वढे संगै २० जना कैदी वन्दीलाई भवनमा बनाईएको पालि मुनि राख्नु परेको उहाँले जानकारी दिनुभयो ।

गर्मी समय वढे संगै अहिले कारागारमा उच्च सतर्कता अपनाईएको छ । संक्रमण देखिएमा फैलन सक्ने भन्दै साबधानी अपनाईएको हो ।

प्रतिक्रिया दिनुहोस !