चितवनः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी वा एसईई मा प्राप्त गरेको जिपिए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकोमा अबदेखि प्राप्त जिपिएका आधारमा भर्ना गर्न लागेको हो ।

सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने बताउनुभयो । उहाँले भन्नुभयो “अब विद्यार्थीले सिटिइभिटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।” प्रवेश परीक्षा लिईदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उहाँले बताउनुभयो ।

कतिपय पूर्व तयारी कक्षा चलाउनेहरुले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम असुलेको गुनासो समेत आएको भन्दै उहाँले अब यस्तो समस्या नहुने बताउनुभयो । सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ तयार गरी लागू गरेको हो । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त औसत ग्रेड प्वाईन्ट (जिपिए) को आधारमा योग्यताक्रम सूचि तय गर्ने व्यवस्था गरिएको छ ।

उहाँका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ वा एसएलसी उत्तीर्णलाई थप अंकभार वापत १ र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभार वापत ०.८५ दिने व्यवस्था गरिएको छ ।

सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाईन मार्फत् फारम भर्ने व्यवस्था समेत गरेको छ । आंगिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरुले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् । श्रीचितवन कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले प्रवेश परीक्षा नहुने व्यवस्थाले विद्यार्थीलाई सहज भएको बताउनुभयो । अनावश्यक रुपमा हुने चलखेल हट्ने र राम्रो अंक ल्याउने विद्यार्थीले अवसर पाउने उहाँले बताउनुभयो ।

आफ्नो कलेजले भर्ना हुन चाहने विद्यार्थीलाई निःशुल्क परामर्श दिने गरेको बताउनुभयो । अनलाईन फारम भर्न चाहनेले समेत कलेजबाटै व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।
निजी कलेजहरुले यस अघि नै ग्रेडको आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३ वटा आंगिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !