
चितवनः चितवनमा सुरु गरिएको प्याराग्लाईडिङ् स्टेशनसम्म पुग्ने सडक सहज नहुँदा पुनः सञ्चालन हुन सकेको छैन । गत वर्षको वैशाखमा शुरु गरिएको प्लाराग्लाईडिङ गत वर्षकै असारमा बन्द भएको थियो । पर्यटकहरु स्टेशनसम्म पुग्ने सडक सहज नभएपछि बन्द गरिएको हो ।
हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ को चौकिडाँडा जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान वन्द गरिएको थियो । उहाँका अनुसार चौकिडाँडा पुग्ने सडक निर्माणाधिन रहेको र स्टेशन क्षेत्रमा होटलहरु निर्माणाधिन रहेकाले केही समयका लागि उडान बन्द गरिएको हो । उडान क्षेत्रमा प्रक्रियागत रुपमा काम सुरुभएकाले तत्काल केही समय उडान कार्य रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सडकका कारण स्टेशनसम्म जान समस्या भएपछि डाँडामा अहिले अन्य संरचनाको काम सुरु गरिएको छ ।” आगामी दशैंदेखि नियमित उडान सुरु गर्ने गरी गृहकार्य गरिएको उहाँले बताउनुभयो ।
अहिले मौसमसँगै सडकको समस्याका कारण प्याराग्लाईडिङ्को लागि सडक उपयुक्त नहुँदा काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरको भ्रमर्ण वर्ष २०२४ लाई लक्षित गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानको रुपमा लिने गरिएको भरतपुर महानगरपालिका वडा नम्बर २९ चौकिडाँडामा दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने छ । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान गर्न सकिने भए पनि यो खेल वन्द हुँदा यहाँ आउने पर्यटक तथा स्थानीय निकै निरास भएका छन् ।
समुुन्द्री सतहबाट १ हजार ५० मिटर उचाईमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट टेकअफ गराउने व्यववस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशुली नदी किनारको २५० मिटर उचाइमा हुने गरेको थियो ।
नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाईडिङ सुरु गर्न लागिएको भए पनि सडकका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्छ । देवघाटका रमणीय स्थलको दृष्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्छन् ।