चितवनः आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर १ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्ष पछि होटल सञ्चालना ल्याईएको हो ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । स्थानीयको साझेदारीमा आईएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो ।

केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरु समक्ष पु¥याउन थप सघाउन पुग्ने ढकालले बताउनुभयो । ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।

यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मीक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रीकालिन बास वस्ने पर्यटकहरुको संख्या वढ्ने अनुमान गरिएको छ ।
उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मूलुकका समेत पर्यटक आएको भन्दै उहाँले होटल सञ्चालनले पर्यटकको बसाई लम्भ्याउने बताउनुभयो । उहाँले भन्नुभयो “नवलपरासी, चितवन लगाएतका जिल्लाका लागि यो कोसेढुङ्गा साबित हुनेछ ।”
मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनहरुको संख्या थपिने अपेक्षा गरिएको छ । आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।

प्रतिक्रिया दिनुहोस !