चितवनः सम्झौता अनुसार काम भएको भए अब आउने पुसमा मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको काम सम्पन्न हुनु पर्ने थियो । सम्झौताको समय सकिन आठ महिना बाँकी रहँदा २९ प्रतिशत मात्र काम भएको छ ।
बि. सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाईएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आव्हान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इन्जीनियर बिजय दरैका अनुसार हाल सम्म २९ प्रतिशत प्रगति भएको छ । यो प्याकेजमा ३८ दशमलब ८६ किलोमिटर पर्दछ ।
शर्मा–जेडआईसीजीले रु ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालयअघिसम्म ४.५ किमि चार लेन सडक दुईतर्फी नै कालोपत्र गरिसकिएको छ ।चुम्लिङटारमा २ सय मिटर र फिस्लिङ बजारमा चार लेनमा डेढ सय मिटर सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो । बिशालटार र मझिमटारमा कालोपत्रे गर्नुअघिको ग्राबेलको काम भईरहेको छ ।
सो खण्डमा पर्ने ६ वटा पुल मध्ये ४ वटा पुलमा बिम राख्नका लागि तयार गरिएको छ । दुईवटा पुलको फाउण्डेसनको काम भई रहेको छ । चितवन तर्फको बारवाङ् र मौवा खोला एबं धादिङ्ग तर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयार गरिएको छ । धादिङ् तर्फका चरौदि र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ ।
नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गती लिएको दाबी गर्नुभयो । बिभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उहाँले स्विकार गर्नुभयो । उहाँका अनुसार स्थानीय तहबाट आबश्यकता अनुसार निर्माण सामाग्री नपाउनु ढिलो हुनुको प्रमुख कारण भएको उहाँ बताउनुहुन्छ । काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा ७ महिना ढिला भएको, अझै पनि बिद्युतको पोल सार्न नसकीएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाई गरेको, घर टहराको क्षतीपूर्ती समयमा दिन नसकिएको लगाएतका कारण काममा ढिलाई भएको उहाँको भनाई छ ।
असार सम्ममा चार वटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । यस संगै असार सम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उहाँको भनाई छ । यो खण्डमा २.२ किलो मिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुने छ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा हुने छ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नेपालले बताउनुभयो ।
यो सडक बिश्व बैंकको सहयोगमा बनाईएको हो ।






