चितवनः भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत बिद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत बिद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनल देखि टिकौली सम्मको काम बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे छ ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पुलचोक देखि केन्द्रीय वस ट्रमिलन सम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । ती क्षेत्रमा स्थानीयको घरमा जडानको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यस्तै बाइपास सडकमा आँपटारी देखि केन्द्रीय बस ट्रमिलन सम्मको सडकमा दाहीन पट्टी भूमिगतको काम सम्पन्न भएको छ भने देब्रे पट्टी भूमिगत गर्ने काम बाँकी रहेको छ । उहाँले भन्नुभयो “फाउण्डेसन राख्ने काम सकीएको छ । केही ठाउँमा मुख्य लाईन जडान बाँकी रहेको छ ।” ३३ केभि जडानको काम सकिएको छ भने ११ केभि र ४०० भोल्टको केवल राख्ने काम जारी रहेको छ ।
पारस बसपार्क देखि गोन्द्राङ् तर्फको कामका लागि सडक बिभागसंग अनुमति लिने प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बर्षातको समयमा फाउण्डेसन निर्माणमा कठिनाई हुने हुँदा केही समय ढिला हुने देखिएको छ।” खाल्डा खन्ने क्रममा पानी आउने भएकाले बर्षात पछि त्यस क्षेत्रको काम सुरु गरिने उहाँले बताउनुभयो । सडक बिभागबाट अनुमति आए संगै काम अघि वढाईने उहाँले जानकारी दिनुभयो । केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडकमा पहिला ३३ केभिए लाईन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँको भनाई छ ।
पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाईन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत काम गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगर भित्र बिद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर बिद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको सुवेदीले बताउनुभयो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिए संगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि वढाईएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिदैं लगिएको उहाँले बताउनुभयो । एशियाली बिकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।






