चितवनः नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर दुरीमा नदी तटवन्धनको काम सम्पन्न गरेको छ । नारायणी नदीको पुलबाट दक्षिण भरतपुर तर्फको ३५ किलोमिटर दुरी मध्य बाँकी १० किलोमिटर दुरीमा तटवन्धनको काम अन्तिम चरणमा पुगेको छ । पाँच किलोमिटर दुरी मध्ये दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आव्हान गरिएको छ ।

कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इन्जीनियर प्रकाश लम्सालका अनुसार यस अघिको जनताको तटवन्ध कार्यालयले १० किलोमिटर तटवन्धनको काम गरेको थियो । कार्यालयको नाम परिवर्तन भएसंगै यो आयोजनाले अरु काम गरेको हो । नारायणी नदी तटवन्धनका लागि बाँकी रहेको ५ किलोमिटर दुरीमा समेत दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारीमा रहेको छ भने अन्य एउटा प्याकेजको वोलपत्र आव्हान गरिएको छ । रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अबका तीनवटा प्याकेजको काम सुरु भए संगै चितवन तर्फको नारायणी नदी तटवन्धनको काम सकिन्छ ।”

जनताको तवन्धन कार्यालयले बिगत १२ वर्ष अघि सम्पन्न गरेको १० किलोमिटर नदी व्यवस्थापनलाई पुनः मर्मत गर्नुपर्ने अबस्था रहेको उहाँले जानकारी दिनुभयो । पहिले जाली राखेर ढुङ्गा हालेर तटवन्धनको काम गर्ने गरिएको थियो । पछिल्लो समय ठूला–ठूला ढुङ्गाको प्रयोग गरेर कंक्रिट वाल लगाउने गरीएको उहाँले जानकारी दिनुभयो । यसले ३० वर्ष सम्मलाई सुरक्षीत हुने भए पनि तार जालीमा हालिएको ढुङ्ले १२ देखि १५ वर्ष सम्म मात्र काम गर्ने अनुमान गरिएको लम्सालले बताउनुभयो ।
ती खण्डमा कामको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई बजेट अभावका कारण करिब रु ९० करोड भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । गत आर्थिक वर्षमा रु १ अर्ब १३ करोड ६४ लाख रकम यस वर्ष दायीत्व पुरा गरेकाले यस वर्षको तिर्नुपर्ने रकम थप जिम्मेवारीका रुपमा रहेको हो ।
आयोजना प्रमुख इन्जिनियर चक्र विक्रम सिंह बजेट अभाव भएपछि तटबन्धको काममा ढिलासुस्ती भएको बताउनुहुन्छ । बजेट निकासा भए संगै भूक्तानी गर्ने योजनामा आयोजना रहेको उहाँले बताउनुभयो । चितवन र नवलपरासीतर्फ नदीकिनारलाई विभिन्न ११ खण्डमा विभाजन गरी तटबन्ध गरिएको हो । अधिकांश खण्डको काम सम्पन्न भइसकेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ र १६ को क्षेत्रमा भइरहेको तटबन्धको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ । भरतपुर महानगरपालिका २६ को भगडी–सिसै क्षेत्रमा भएको तटबन्धको भौतिक प्रगति ३५ प्रतिशत छ ।
तटवन्धन लगाए संगै नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरु जोखिमबाट मुक्त भएका छन् । बिगतका वर्षहरुमा नारायणी नदी बस्तिमा पस्दा वर्षातको समयमा स्थानियले घर छोडेर सुरक्षित ठाउँमा आश्रय लिनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस !