चितवन), २२ वैशाखः चितवन जिल्ला यु–१६ क्रिकेट टिम निर्माणका लागि छनोट प्रक्रिया सुरु भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार जुन २५ मा सञ्चालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघले जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हुँदा सोही अनुरुप टीम छनोट गर्न लागिएको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाका अनुसार वैशाख २५ गतेदेखि यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा वि.सं. २०६५ साल भदौ १६ गतेदेखि जन्मिएका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । उहाँले प्रारम्भिक छनोट चरणमा एकसय भन्दा बढी यूवा सहभागी भएको जानकारी दिनुभयो । नारायणगढको क्याम्पाचौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणमा छनोट गरिएको छ । छनोट भएका खेलाडीहरुले भरतपुर –१५ स्थित गौतमबुद्घ अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा चार समुुहमा एक आसपमा भिड्नेछन् । २० ओभरमा खेलाइने खेलमा सबै टिमले ३–३ खेल्नेछ् जसबाट चितवन जिल्ला टिम निर्माण हुनेछ ।
सो अवसरमा ट्रफी अनावरण र जर्सी सार्वनिक गरियो । प्रतियोगितालाई नारायणगढमा रहेको सेन्ट्रल कलेजले प्रायोजन गरेको छ ।
––






