चितवनः कृषि बिकास कार्यालय चितवनले मकवानपुरको मनहरीमा चैते धानको जातिय परिक्षण गरेको छ । बिभिन्न ६ वटा प्रजातिको धानको जातीय परिक्षण गरिएको हो ।
मनहरी गाउँपालिका वडा नम्बर ७ मा प्रतिसा गिरीले ३ कठ्ठा जग्गामा लगाएको धानमा जतिय परिक्षण गर्नुभएको हो । कार्यालयका सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी हाइब्रीड जातीय अध्ययन परिक्षण तथा प्रबिधि अनुसरण कार्यक्रम अन्तर्गत मनहरीमा चैते धानको परिक्षण गरिएको हो । आलु र मकैमा पनि परिक्षण गरिएको उहाँले बताउनुभयो । कालिका नगरपालिकामा मकैको परिक्षण भईरहेको छ भने खैरहनी नगरपालिकामा आलुको परिक्षण गरिएको थियो ।
मनहरीमा हर्दिनाथ हाइब्री्रड १, हर्दिनाथ १, ५, चैते ५, सुख्खा २ र ३ जातको परिक्षण गरिएको हो । चैते धान लगाउँदा कुन जातको उत्पादन कति हुन्छ भनेर परिक्षण गरिएको हो । परिक्षणका क्रममा रासायनीक मल, बिषादी, प्राङ्गारिक मल, बिषादीको प्रयोग लगाएतका बिषयमा जातिय परिक्षण गरिएको हो । मल बिषादी संगै पानीको प्रयोग कति गर्दा धानमा कस्तो परिवर्तन आउँछ भन्ने बिषयमा अध्ययन गरिएको छ ।
कृषक गिरीका अनुसार स्थानीय समुदायले धान रोप्ने पद्धती भन्दा फरक पद्धतीबाट धान रोपेर परिक्षण गरिएको हो । उपलव्ध जग्गालाई बिभिन्न २१ प्लटमा बिभाजन गरेर परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परिक्षण गरिएको छ ।
स्थानिय बिनिता श्रेष्ठको २१० वर्ग मिटर क्षेत्रफल जग्गालाई २१ प्लटमा बिभाजन गरी नाइट्रोजन परिक्षण गरिएको हो । नाइट्रोटनको मात्रा अनुसार धानमा कस्तो परिवर्तन आउने रहेछ भन्ने बिषयमा परिक्षण गरिएको उहाँले बताउनुभयो । नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाई र उत्पादनमा हुने परिवर्तन पत्ता लगाउनका लागि परिक्षण गरिएको कार्यालयकी सूचना अधिकारी त्रिपाठीले वताउनुभयो ।






