चितवनः दोस्रो अन्तर्राष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ । सम्मेलनको आज यहाँ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै उहाँले भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्नु पर्ने बताउनुभयो । उहाँले अरु विशेषज्ञ सेवा लिने थलोको रुपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस गरेको बताउनु भयो । उहाँले भन्नुभयो “मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न हामी इच्छुक र तत्पर छौं ।”
सम्मेलनले जुन खालको निष्कर्ष निकाल्छ, त्यसलाई नीति निर्माणको तहमा पु¥याउन र कार्यान्वयन गर्न हामी सबैले योगदान दिनु जरुरी रहेको उहाँको भनाई थियो ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा सुरु भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । मानसिक स्वास्थ्य उपचारको समुदायस्तरमा अझै पहुँच पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनिकरण गर्न भूमिका खेल्नेछ ।”
दाङ्को घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको चर्चा गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्धि देश बनाउन सकिने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुने छ ।” कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशहरुमा पनि मानसिक रोग विकराल रुपमा रहेको भन्दै विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हड्दै गएको बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको उपकुलपति डा.प्रदिप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. शैलेन्द्र अधिकारी, डा. सिम्रन चौधरी लगायतले बोल्नु भएको थियो ।
सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाल लगायतका देशका सहभागी रहेका छन् । सम्मेलनमा ६० भन्दा बढी कार्यपत्र प्रस्तुती र एक सयभन्दा बढी वक्ताहरुले मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्ने छन् ।
“समुदायका लागि सामुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य” भन्ने नाराका साथ सुरु भएको सम्मेलन तीन दिन सम्म चल्ने छ । सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघ संस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी समेत सहभागी भएका छन् ।
चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वदेशी र केही विदेशी संस्थाहरु समेतको सहकार्यमा सम्मेलन सुरु भएको हो ।






