चितवनः पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य बिस्तारै वढ्न थालेको छ । लागत मूल्य समेत पाउन नसक्दा चिन्तित वनेका किसानहरुले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महशुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु ५२५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु ३५० मा झरेर पुगेको थियो । अहिले मूल्यमा बृद्धि भएर रु ४५० पुगेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागु हुनेगरि ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ४३०, मध्यमको रु ३८० र ‘एक्सएल’ ४५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु ३५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य वढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रु ३ हजार १४०, ठूलो अण्डा रु ३ हजार र मझौलाको रु २ हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उहाँले बताउनुभयो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलब ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रति पेटी रु ३ हजार ६७५ सम्म पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्य समेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाई छ ।
उहाँले भन्नुभयो “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग वढ्नुले अण्डाको मूल्य वढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा बिभिन्न खालका रोग देखिदाँ उत्पादन निकै घटेको छ ।
संघका सचिब मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग वढेको छ । हो । उहाँले भन्नुभयो “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश वढ्ने देखिन्छ ।” उहाँले थप्नुभयो, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।” नेपालमा कुखुरा पालक किसानले लागत मूल्य नपाए पछि धेरै बिस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !