नारायणगढ ३१ चैत ः चितवनको नारायणगढमा मनोरञ्जनसँगै रक्तदानको चेतना फैलाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्न लागिएको छ । नयाँ वर्ष २०८२ को अवसरमा ‘म्युजिक फर ब्लड’ भन्ने नाराका साथ नारायणी नदी किनारमा आज चैत ३१ गते विभिन्न ब्याण्ड सहितको साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा चर्चित पाँच ब्यान्डको प्रस्तुती रहने मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साङ्गीतिक कार्यक्रममा द एक्स ब्याण्ड, कुटुम्ब, मन्त्र, समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज र केहर एण्ड जोय ब्यान्डलगायत र अन्य स्थानीय प्रस्तुति रहने छ ।
चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन भईरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएको अधिकारीले बताउनुभयो । उहाँले भनन्ुभयो, “हाल रगतको अभाव भइरहेको छ । यसको लागि युवाहरुमा चेतना फैलाएर रक्तदान गर्नका लागि उत्प्रेरणा जगाउनु जरुरी भएको हुँदा यस प्रकारका कार्यक्रम गरेका हौंं । ” उहाँले देशका विभिन्न स्थानहरुमा पुगेर रगत व्यवस्थापन तथा रक्तदानसँगै उत्प्रेरणाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
एस डी फाउण्डेशनले आयोजना गरेको मिसन रेड न्यू इएर फेस्ट नामक साङ्गीतिक कार्यक्रममा १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ ।






