चितवनः भारत लगाएतका एशियाका देशमा मौरीको घारमा ठूलो समस्याको रुपमा देखा परेको ट्रोपिलाप्सिस माइट नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखा परेको छ । कृषि तथा वन विज्ञान विश्व बिद्यालयले यहाँ आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका बिदेशी वैज्ञानीकहरुले जिल्लाको मौरी घारको निरिक्षणका क्रममा सो माइट फेला पार्नुभएको हो ।
विश्वविद्यालयको कृषि संकायले आयोजना गरेको कृषि रूपान्तरण विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागि कोरीया र ताइवानका वैज्ञानीकहरुको टोली संगै पूर्बी चितवनमा रहेको व्यवसायीक मौरी घारमा निरिक्षणका क्रममा माइट देखिएको हो । विश्वबिद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सह प्रध्यापक रामहरी तिमिल्सीनाका अनुसार विश्व बिद्यालयको मौरी तथा परागसेचन विज्ञ डा. केदार देवकोटा, मौरी बिकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई सहित निरिक्षणमा आङ्दोङ् विश्वबिद्यालय दक्षिण कोरीयाका वैज्ञानीक चुलीआइ जुन र नेस्नल चुङ् सिङ विश्वबिद्यालय ताइवानका वैज्ञानीक जेन यान सहितको टोलीले निरिक्षणका क्रममा माइट भेटिएको हो ।
सम्पूर्ण प्रमाण समाबेश गरि नेपाल सरकारलाई पेस गरेपछि आधिकारीक रुपमा सरकारले माइट भएको प्रमाणीत गर्नुपर्ने हुन्छ । हाल सम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भिर मौरीमा देखिएको भने पनि व्यवसायीक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचन विज्ञ देवकोटाले विदेशी वैज्ञानीकहरुले निरिक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गर्नुभएको हो । सोही क्रममा भेरवा माइट समेत देखिएको र यो जुन, जुलाई र अगष्टमा थप वढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञहरुलाई समेत उहाँहरुले सुझाब दिएको देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन महिना अघि नेदरल्याण्डमा भएको मौरीको रोग किरा व्यवस्थापन सम्बन्धि सम्मेलनमा एशियाका देशहरुमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका बिषयमा छलफल गरिएको थियो ।
वैज्ञानीकहरु संगै रहनुभएका नेपाल मौरी पालक संघका निवर्तमान अध्यक्ष शिब शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताउनुभयो । माइट फैलन नदिन साबधानी अपनाएर काम गर्नुपर्ने उहाँको भनाई छ ।
विश्वविद्यालयको कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य बिभिन्न महत्वपूर्ण उपलव्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले मौरीलाई ठूलो असर पु¥याउँछ । समयमानै नियन्त्रणका लागि काम थाल्नु पर्छ ।” भारत लगाएतका देशमा यो समस्याका कारण मह उत्पादनमा कमि आउने गरेको छ ।
सम्मेलनमा नेपाल सहित अमेरिका, ताइवान, कोरिया, बंगलादेश, भारत र नर्वेका वैज्ञानीकहरु सहभागी हुनुहुन्छ । आज सम्म हुने सम्मेलनमा वैज्ञानीकहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिनुभयो । ७ सय भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा बिश्वबिद्यालयले गरेको अनुसन्धानका बिषयमा छलफल, अन्र्ताष्ट्रिय स्तरमा कृषि सम्बन्धि भएका अनुसन्धान र अबस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका बिषयको पहिचना एबं प्राथमिकिकरण लगाएतका बिषयमा बृहतरुपमा अन्तरक्रिया गरिएको छ । यस संगै बाहिरबाट आउनुभएका वैज्ञानीकहरुले यहाँका कृषि संग सम्बन्धित बिभिन्न बिषयमा स्थलगत अध्ययन गरी सुझाब समेत दिनुभएको छ ।







