चितवनः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीनवटा गैंडालाई पूर्बी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आईतबार र सोमबार गरी ती गैंडालाई पूर्बी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
तीनवटै गैंडालाई पूर्बी सेक्टरको खगेन्द्रमल्लि क्षेत्रमा ल्याएर छोडीएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ बर्षको पोथी गैंडालाई एबं सोमबार अन्दाजी १८ वर्षको भाले गैंडालाई ल्याईएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिनुभयो । ।
उहाँका अनुसार सोमबार नमुना मध्यवर्ती सामुदायीक वन पिठौलीबाट भाले गैंडा ल्याईएको हो भने शनिबार र आईतबार स्थानान्तरण गरीका दुबै गैंडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैंडा हुन । सोमबार डार्ट गरिएको गैंडालाई सोही दिन साँझ स्थानान्तरण गरेर छाडिएको हो । शनिबार डार्ट गरीएको गैंडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैंडालाई आइताबार साँझ निकुञ्जको पूर्बी सेक्टरमा ल्याएर छाडिएको थियो । यस वर्ष चारवटा गैंडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैंडा स्थानान्तरणको काम गरिएको हो ।
निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो । थप एउटा भाले गैंडा पूर्बमा ल्याईदै छ ।

प्रतिक्रिया दिनुहोस !