
चितवनः भरतपुर महानगरपालिको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । महानगरपालिकाको वडा नं. २९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा पढाउने शिक्षकहरुलाई मासिक रु.दुई हजारका दरले भत्ता दिएको हो ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिईएकोमा यस वर्ष १२ महिनाकै भत्ता दिईदै छ । गत वर्ष ३३ जनाले यो सुविधा पाएका थिए ।
आचार्यका अनुसार उक्त वडामा ११ विद्यालय छन् । जसमध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिईएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । जसमध्ये कविलासमा पढाउनेले नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् ।
महानगरपालिका प्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठाभाडामा लिएर पढाउँदै आएका शिक्षकहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिएको बताउनुभयो । यसले त्यस क्षेत्रको शिक्षामा पनि थप सुधार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सुविधासम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उहाँको भनाई छ ।